काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको सर्वोत्तम सिमेन्टको आइपीओमा ७१ करोड २४ लाख ६७ हजार १२६ रुपैयाँ बराबरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझसम्ममा ३० हजार ६४६ जना आवेदकले १९ लाख ७४ हजार १४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ७.३९ गुणा बढी आवेदन हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता छुट्याएको छ । यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि छुट्याएको छ ।
लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन चाडोमा माघ १० गते र ढिलोमा माघ २५ गते बन्द हुनेछ ।