काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा ‘एशियन इन्स्योरेन्स मिट २०२३’ सुरु भएको छ । आजदेखि होटल याक एण्ड यतिमा प्राधिकरणको आयोजनामा ‘एशियन इन्स्योरेन्स मिट २०२३’ सुरु भएको हो ।

विश्वमा नवीनतम् विकाससँगसँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरूको पहिचान, जोखिम न्यूनीकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

आज पहिलो दिन नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, चीन (मकाओ), जोर्डन र मलेसिया लगायतका देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

यसैगरी, विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायहरूका काम कारवाही, नयाँ नयाँ जोखिमहरूको व्यवस्थापनका लागि बीमा कम्पनीहरूलाई तयारी अवस्थामा राख्न नियामक निकायहरूले निर्वाह गर्दै आएको भूमिका, नियामक निकायहरूबीचको सम्बन्ध सुदृढीकरण, बीमा व्यवसायको स्वच्छ विकासका लागि नियामक निकायहरूबीचको आपसी सहयोग एवम् साझेदारी अभिवृद्धि, बीमा क्षेत्रलाई सबल, नवीन सोच र जवाफदेही किसिमले अघि बढाउने लगायत विषयमा छलफल भइरहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोखिम, जोखिम न्यूनीकरणका अन्तर्राष्ट्रिय अभ्यास, जोखिम न्युनीकरण सम्बन्धी आपसी अनुभव, जोखिम न्यूनिकरणका लागि क्षमता अभिबृद्धि र बीमा क्षेत्रको भावी गन्तव्य लगायतका विषयमा प्रस्तुतिकरण एवंम छलफल हुने कार्यक्रम रहेको छ ।

त्यस्तै, सम्मेलनको दोस्रो र तेस्रो दिन विभिन्न देशका बीमा क्षेत्रका नियामक निकायका पदाधिकारीहरूका साथै बीमा क्षेत्रसँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहनेछ । तीन दिनसम्म हुने सम्मेलनमा करिव ३५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनको मूल विषय’Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ । सम्मेलन आयोजनामा International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) / Access to Insurance Initiative (A2ii) को सहयोग रहेको छ ।