काठमाडौँ । वैदेशिक रोजगार विभागको टोलीले वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ । विभागले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा कन्सल्टेन्सीमा छापा मारेको हो ।

विभागको टोलीले कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा बिहीबार छापा मारेको हो । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो । सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागले बताएको छ ।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्ट समेत नियन्त्रणमा लिइएको हो । सामाजिक सञ्जालमा गैर कानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरी समेत विभागमा परेको थियो । उक्त कन्सल्टेन्सीहरूले सामाजिक सञ्जालमा गैर कानुनी रूपमा सूचना दिने र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ ।

पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन् ।