काठमाडौं । आइतबार बिहान राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा पूर्वएआईजीसमेत रहेका कार्यसम्पादन समिति सदस्य श्रेष्ठलाई पार्टी कार्यालयभित्रै कुटपिट भएको छ ।

राप्रपाको एक समूहले पार्टीका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट गरेपछि शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । पार्टीको कार्यसम्पादन समिति बैठक चलिरहेकै बेला खाना खाने समयमा श्रेष्ठमाथि एक समूहले कुटपिट गरेको भिडियो बाहिरिएको छ ।

नेता दीपकबहादुर सिंहले श्रेष्ठलाई आक्रमण गर्नेहरू फरार रहेको जानकारी दिएका छन् । आक्रमणकारीलाई खोजी गर्न प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

श्रेष्ठमाथि आक्रमण भएपछि राप्रपाका शीर्ष नेताहरूले छुट्ट्याएका थिए भने लगत्तै उनीहरू फरार रहेका छन् । श्रेष्ठमाथि भएको आक्रमणको घटनापछि सिसिटिभी फुटेज हेर्ने काम भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अहिले बैठक रोकेर यही विषयमा छलफल भइरहेको बताइएको छ ।

राप्रपाको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको डकुमेन्टमाथि छलफल गरेर जारी राजनीतिक परिस्थितिबारे उपयुक्त निर्णय लिने तयारी छ ।