काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा ३९ मतका साथ नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार बिहानबाट भएको राष्ट्रिय सभाको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ ।

मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो सङ्ख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरे ।

दाहाल सत्तारुढ दलहरूको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए।

त्यसअघि, काँग्रेस र लोसपाका तर्फबाट उम्मेदवार रहेका युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत एक जनाको पद रिक्त छ ।

दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए ।