पाल्पामा प्रहरीले अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो ।

रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा र रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले तीन सय ७२ बोरा मल बरामद गरेको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । केही दिनदेखि रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए ।

अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ ।