काठमाडौं । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय फ्युचर बोनस प्रोभिजन (भविष्यको लागि रिर्जभ राख्नुपर्ने व्यवस्था) लागू गरेसँगै त्यसको मारमा पुराना तथा ठूला बीमा कम्पनीहरु देखिएका छन् । उनीहरुले एकातिर भविष्यको लागि रिर्जभ रकम राख्नु पर्ने छ भने अर्कातिर तत्काललाई पनि आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा मुख्यतय पुराना बीमा कम्पनीहरुलाई ठूलो समस्या सिर्जना भएको हो ।

नियामकीय प्रावधान भएकाले कुनै पनि जीवन बीमा कम्पनीलाई फ्युचर बोनस प्रोभिजन नगरी सुख छैन । त्यसरी रिर्जभमा राखिने रकम कुनै कम्पनीको संचालक समिति वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले इच्छाएको आधारमा मात्र फेरबदल गर्न सफल हुने नभई उनीहरुले आफ्नो प्राविधिकको सहयोगमा मात्रै त्यस्तो रकम तोक्न मिल्छ ।

उदाहरणका लागि जसरी कानुनी कामकाजका फाइल वकिलले तयार गर्छन्, अडिटको काम अडिटरले गर्छन् त्यस्तै बीमाको बोनस दर निर्धारणको जिम्मा एक्चुरीहरुलाई दिइएको हुन्छ । त्यस्ता एक्चुरीहरु बीमाको स्वतन्त्र प्राविधिक विश्लेषक समेत हुन् ।

पछिल्लो समय केही बीमा कम्पनीहरुको नाम नै तोकेर कुनै सीईओ वा संचालकहरुले बोनस दर घटबढ गराएको वा केही चलखेल गरेको हुनसक्ने आशंका छ्याप्छ्याप्ती फैलिरहेको छ । यसको मतलब बीमा कम्पनीहरुको बोनस बीमा कम्पनीका सीईओहरुले नै निर्धारण गर्ने हो भन्ने भ्रम पनि व्याप्त हुँदै गएको छ । यसमा साधारणतय जो कोहीले बुझ्नु पर्ने कुरा के छ भने यदी कुनै पनि सीईओले नै बीमाको बोनस दर निर्धारण गर्थे भने उनीहरुले बीमा बजारको सबैभन्दा उच्च दरको बोनस आफ्नो कम्पनीमै निर्धारण गर्ने पक्का छ । तर, वास्तविक धरातलमा उभिएर हेर्ने हो भने त्यस्तो हुँदैन । किनकी बीमा कम्पनीहरुले वर्षौनि करोडौ रुपियाँ खर्चिएर एक्चुरी हायर गर्ने गर्छन् ।

अहिले नेपाली बीमा बजारमा नयाँ तथा साना जीवन बीमा कम्पनीहरुको हकमा भने फ्युचर बोनस प्रोभिजनले त्यस्तो केही पनि समस्या पारेको छैन । पहिलो कुरा उनीहरुकोमा बीमा गराउँने बीमितहरुको संख्या कम छ । जसको मतलब हो उनीहरुको जोखिम कम छ । जब बीमा कम्पनीले बीमितलाई तिर्नु पर्ने दायित्व भार बढ्दै जान्छ त्यस्तो अवस्थामा बीमा कम्पनीहरुको खर्च पनि ह्वात्तै बढ्न पुग्छ । यो बीमा कम्पनीहरुको कमजोरी होइन । ठूलो र पुरानो कम्पनी हुनु भनेको उल्टै धेरै जना बीमितहरुको विश्वास कमाएको प्रमाण हो ।

तर, पछिल्लो समय केही बीमा कम्पनीहरुलाई लक्षित गरेर नकारात्मक टिका टिप्पणीहरु भइरहेका छन् । त्यसले गर्दा बीमितहरुमा एक किसिमको भ्रम सिर्जना हुने मात्र नभई भोलिका दिनमा उनीहरुले ठूलो जोखिम आईपर्दा बीमाले दिने आर्थिक लाभबाट बञ्चित हुनुपर्ने अवस्था निम्तिने देखिन्छ । त्यो, पनि अकरण ।

यता, बैंक वित्तीय क्षेत्र माथि प्रहार हुने गरी नकारात्मक टिका टिप्पणी हुँदा बैकको नियामक नेपाल राष्ट्र बैंकले विज्ञप्ती समेत जारी गरेको अवस्था छ । तर, अर्बौ अर्ब रुपैयाँ बराबरको जोखिम धारण गर्ने जीवन बीमा कम्पनीहरु माथि बोनस दरको नकारात्मक अफवाह फैलदा नेपाल बीमा प्राधिकण मौन बस्न रुचाएको अवस्था छ । सोही अवस्थाका कारण पुराना तथा ठूला जीवन बीमा कम्पनीहरुलाई भित्र,भित्रै ठूलो दबाब सिर्जना भएको पाइएको हो । ती कम्पनीहरुको सीईओहरुले आफ्नो भूमिकाको बारेमा नियामक निकायले समेत प्रष्ट हुने गरी कुनै विज्ञप्ती वा सूचना जारी नगरे त्यसले भविष्यमा विकराल अवस्था निम्त्याउँन सक्ने बताएका छन् ।

यता नेपाल बीमा प्राधिकरणले भने भविष्यलाई जोगाड गर्नु बीमा कम्पनी र बीमित दुवैको लागि राम्रो कुरा रहेको बताउँदै आएको छ भने ठूला जीवन बीमा कम्पनीमा देखिएको मुख्य समस्याको बारेमा कुनै एक्सन नलिएको अवस्था छ ।नागरिकको जोखिम बहन गर्दै आएका बीमा कम्पनीहरुको समस्याको बारेमा बुझेर त्यसलाई समाधान गर्दै नियमनको दायरामा ल्याउँन जरुरी देखिएको छ ।