काठमाडौँ। सहकारी ठगी प्रकरणमाथिको अनुसन्धान अगाडि बढाउन नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारलाई आग्रह गरेका छन् ।

यस सम्बन्धमा मन्त्रिपरिषदमा रहेका सदस्यहरू नै अनुसन्धानको घेरामा रहेको भन्दै उनले निष्पक्ष अनुसन्धान हुनेमा शंका रहेको बताएका छन् । यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्ट पार्नुपर्ने थापाको माग छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले पोखराका पीडितहरूसँगको भेटमा सहकारी ठगीका सम्बन्धमा अनुसन्धान हुन्छ भनेको आफूले सुनेको तर विश्वास गर्न नसकेको स्मरण गराएका छन्।

‘अनुसन्धान कसरी हुन्छ ? अहिलेको प्रहरी प्रशासनले नियमित अनुसन्धान गर्ने हो भने कसरी पत्याउने ? सहकारीमा फियर ढङ्गले अनुसन्धान होस् । कुनै एउटा पनि प्रमाण नाश नहोस् । अहिले प्रमाण प्रहरीसँगै छ’ महामन्त्री थापाले प्रश्न गरे, ‘जो मुछिएको छ, उसैले अनुसन्धान हुन्छ भनेर कसरी पत्याउने? ’

वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनले प्रधानमन्त्रीको जवाफ मागेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले विगतमा सहकारीमा नक्कली खाता खोलेर रकम लिएको अनुसन्धानका क्रममा देखिएको काँग्रेस महामन्त्री थापाले बताए ।

पोखराको सूर्य दर्शन सहकारीबाट १९ हजार मानिसको १ अर्ब ३५ करोड पैसा अपचलनमा परेको र यस सम्बन्धमा पोखरा महानगरपालिकाले अध्ययन गरेको उनले स्मरण गरे ।