काठमाडौँ । भन्सार विभागले चालु आर्थिक वर्षको ८ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात निर्यात दुबै ओरालो लागेको छ ।

सार्वजनिक तथ्याङ्क अनुसार फागुन मसान्तसम्मको अवधिमा आयात २.६६ प्रतिशतले घटेको हो। कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको आयात गरेको छ । यो गत आवको फागुन मसान्तसम्मको तुलनामा भने २८ अर्ब १६ करोड २८ लाख रुपैयाँ कमी हो ।

गत आवको सोही अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको आयात भएको थियो । यता, निर्यात ३.९९ प्रतिशत घटेको छ । चालु आवको ८ महिनामा नेपालले कुल १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।

गत आवको फागुन मसान्तसम्ममा नेपालबाट कुल १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। त्यस्तै, नेपालले कुल ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २.७८ प्रतिशतले कम हो । कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ ।