काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ आयोजना हुने भएको छ।
चैत १७ र १८ गते चितवनमा हुने उक्त कृषि सम्मेलन नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलता मुल नाराका साथ आयोजना हुन गईरहेको कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नु रहेको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्लताको सम्मान र उद्ममशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताए ।
फोरमले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको हो ।
सम्मेलनअन्तर्गत चितवन भरतपुरस्थित प्रदर्शनी केन्द्रमा महिला कृषि उद्यमीका उत्पादन तथा कृषिसँग सम्बन्धित प्रविधिहरुको प्रदर्शनी समेत गरिनेछ । सम्मेलनको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय ज्वाला कुमारी साहले गर्नेछिन् ।
सम्मेलनको सहयोगी संस्थाहरूमा यूएसएड, हेफर, एफएओ, मुक्तिनाथ कृषि कम्पनी, नबिल बैंक, ग्लोबल आइएमई बैंक, एग्री नेपाल, शिखर इन्स्योेरेन्स रहेका छन् । परिसंघको महिला नेतृत्व फोरमले गत वर्ष काठमान्डौंमा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन सम्पन्न गरेको थियो ।