काठमाडौं । बीमा क्षेत्रमा निकै लामो समय काम गरेका बीमा विज्ञ तथा अनुभविहरुले नै जीवन बीमाको बोनस दर निर्धारण गर्ने कुरा पूर्ण प्राविधिक रहेको स्पष्ट पारेका छन् । उनीहरुले कुनै कम्पनीका उच्च अधिकारी,सीईओ वा कोही व्यक्तीले निहीत स्वार्थ पूरा गर्न बीमाको बोनस दर निर्धारण गर्न नमिल्ने बताएका छन् । बोनस दर निर्धारणमा यस्तै गडबढी नहोस भनेर नै त्यसका लागि केही कडा व्यवस्था समेत निर्धारण गरिएको हुन्छ ।
केही व्यक्तीहरुले बोनसको वास्तविक परिभाषा नबुझी सरल ढंगले अन्य कम्पनीको नाफामा आउँने बोसन वा कमिशन जस्तो बीमाको रकमलाई बुझ्छ भने त्यो सहि नहुने विज्ञ बताउँछन् ।
यसरी हुन्छ बोनस दरको निर्धारण
मुख्य कुरा भनेको बीमाको बोनस दर तोक्ने काम नै एक्चुरीको हो । एक्चुरी (बीमांकी) बन्न जो कोहीले चार वर्षे डिप्लोमा र चार वर्षे फेलोसिपको अध्ययन गर्नुपर्छ । साथै, यो अध्ययन नेपालमा (एमबीबीएस) डाक्टर लेभलको पढाईभन्दा पनि माथि हुन्छ । जबकि नेपालमा साधारणतया एमबीबीएसको सस्तो पढाई ३५ लाख रुपैयाँ हाराहारीमा हुने गर्छ ।
अब यता जीवन बीमामा बोनस दर निर्धारणको कुरा गर्दा जीवन बीमा कम्पनीहरुको कारोबारबाट वर्षभरीको दायित्व हेर्नुपर्छ । त्यस्ता दायित्वमा बीमा कम्पनीहरुले पाँच वर्षे बीमा, दश वर्षे बीमादेखि पन्ध्र, बीस वर्षको दायित्व (आफूले लिएका जोखिम) सबै हेर्न जरुरी हुन्छ । त्यस्ता दायित्वलाई करेन्ट भ्यालुमा ल्याएर जोखिमांकन हुन्छ । यसको मतलब कुनै कम्पनीले २० वर्षसम्म बोकेका दायित्वले आज र २० वर्षसम्म बीमितलाई, कम्पनीलाई, बोनसलाई, कम्पनीको नाफा घाटालाई पार्ने असरको बारेमा अध्ययन गरिन्छ । त्यस्तो अध्ययन गर्ने काम सीईओको होइन । त्यसरी अध्ययन नगरी बोनस दरको आँकडा पनि आउँदैन ।
त्यस्तै, बीमाका जानकारहरुले बताए अनुसार भ्यालुयसन भएको रकममा सरप्लस छ कि डेफिसियट छ त्यो अनिवार्य हेर्नु पर्छ । जुन हेर्ने काम एक्चुरीको मात्रै हो भने जसलाई नै एक्चुरीयल क्षमताको महत्वपूर्ण पाटोको रुपमा पनि लिने गरिन्छ ।
सरप्लस भएको अवस्थामा रिजर्भ लगायत धेरै सूचांकहरुमा त्यसले पार्ने असर हेरिन्छ । जब सरप्लसबाट रिजर्भ राखिन्छ तब मात्र (डिस्ट्रुविटेव प्रोफिट) वितरण योग्य नाफा आउँछ । त्यस्तो प्रोफिटबाट ९० प्रतिशत रकम पोलिसी होल्डरलाई या भनौ बीमितलाई जाने हो । र, बाँकी रहेको १० प्रतिशत रकम शेयर होल्डर लगानीकर्ताहरुलाई जान्छ । अब त्यो ९० प्रतिशमा विगतमा रहेको र हाल कायम हुनसक्ने बोनस रेटको हर हिसाब निकालिन्छ । त्यस्तो अवस्थामा रकम घटाउने वा बढाउने अवस्था सिर्जना हुन्छ । जुन रकम त्यसरी घटबढ हुन्छ वास्तवमा जीवन बीमाको बोनस दर पनि त्यसलाई नै मान्ने गरिन्छ ।
यति धेरै प्राविधिक, खर्चिलो, अनिवार्य विषयलाई सहजै जो कोहीले बोनस दर निर्धारण गर्छ, कुनै सीईओले गर्छन् भन्नु बीमाको ज्ञानमै कमी देखिएको विज्ञहरुले औंल्याएका छन् । उनीहरुले हवाईजहाज पाइलटले नै उडाउने भएकाले जो कोही जहाज चलाई हाल्छ नि भन्न नसुहाउँदो कुतर्क मात्रै हुने बताएका हुन् ।
त्यस्तै, बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले समेत आफ्नै छुट्टै स्वतन्त्र एक्चुरीहरु राखेर जीवन बीमा कम्पनीहरुको हिसाबकिताब जाँच्ने भएकाले त्यस्ता कुतर्कले नियमनकारी क्षमता माथि नै ठाडो प्रश्न उठ्न जाने बताएका छन् । बीमा प्राधिकरणले नियम कानुन अनुसार आफ्नोडाइरक्टीभ, कम्पनीहरुको भ्यालुयसन चेकजाँच गर्दै आएको छ । बीमा प्राधिकरणले नै एप्रोभल दिएपछि मात्रै कुनै पनि जीवन बीमा कम्पनीहरुको बोनस दर निर्धारण हुने भएको भन्दै जानकारहरुले नचाहिदो तर्क गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउँनु पर्ने सुझाव दिएका छन् । यही होइन भने कता कता नेपाल बीमा प्राधिकरण माथि नै प्रश्च चिन्ह खडा हुनसक्ने बीमा क्षेत्रका अनुभवीहरुको भनाई छ ।