काठमाडौं । शेयर लगानीकर्ताहरुको साझा संगठन नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले शेयर बजारले सुधारको बाटो अँगालेको स्पष्ट पारेका छन्। उनले आर्थिक भ्वाईससँगको कुराकानीमा बजार सुधार उन्मुख रहेको बताएका हुन् ।
यस्तो छ उपाध्यक्ष लम्सालको भनाई
अहिले शेयर बजार सुधारउन्मुख देखिएको अवस्था छ । बजारले सकारात्मक लय समात्न थालिसकेको छ । यति हुँदा हुँदै पनि थोरै एक,दुई दिनलाई सेलिङ प्रेसर (शेयर बेच्ने लगानीकर्ताहरको चाँप) बढ्दा नेप्से परिसूचक केही घटेको अवस्था छ । यसलाई हामीले क्वाटर इन्डको इफेक्टको रुपमा पनि लिन सक्छौ ।
आगामी हप्ताबाट शेयर बजारले एउटा गति समात्ने हाम्रो अनुमान छ । विगतको तुलनामा शेयर बजारले लगानीकर्ताहरुमा आशा जगाएको छ । या, भनौ हामी आफै लामो समयपछि आशावादी बन्न थालेका छौं । यसमा के हो ? भने बजार त बढ्ने नै हो त्यो कुरामा कुनै डाउट नै छैन । मलाई लाग्छ अब बजारको घट्ने ठाउँ सक्किसक्यो । एउटा लेभलमा घट्नु पर्ने जति बजार घटि पनि सक्यो । त्यही घटेको अवस्थाबाट उकालो लाग्ने क्रममा पनि बजारमा केही करेक्सन देखिएको हो । अहिले तपाईले जो कोही विश्लेषहरुसँग सोध्नु भयो भने पनि बजार अगाडी नै बढ्ने हो, भन्ने उत्तर पाउँनु हुनेछ ।
अहिले अधिकांश कुराहरुले शेयर बजारलाई सर्पोटको अवस्था देखिएको छ । तपाईहरुले हेर्नु भयो भने बैंकको बेस रेट घटेको छ । इन्ट्रेस्ट रेट पनि घटेकै छ । यता लिक्विडीटी हाई भएको अवस्था छ । थोरै चैत महिनामा क्वाटर इन्डको प्रेसर बजारमा देखिन सक्छ । जहिले पनि त्यस्तो बेलामा बजारले करेक्सनको गति लिने गर्छ । तर, अहिलेको समय त लगानीकर्ताहरुले कहिले यस्तो समय आउँला र शेयर किनौला भनेर ढुकेर बसेको समय हो ।
आउँने हप्ता भरीमा शेयर किनिसक्नु पर्छ भन्ने मानसिकतामा धेरै लगानीकर्ताहरु देखिरहनु भएको छ । लगानीकर्ताहरुले क्वाटरको अवस्था हेरेर चैत १८,२० पछि भटाभट लगानी गर्न थाल्नु हुनेछ भन्ने हाम्रो विगतका अनुभवले पनि भन्छ । तर, अब बजार बढ्ने कुरामा चाही त्यति धेरै डाउट छ जस्तो मलाई चाही लाग्दैन ।
शेयर बजारले अहिले कन्फिडेन्ट खोजिरहेको अवस्था हो । त्यो कन्फिडेट लगानीकर्तामा देखिन सुरु गर्ने बित्तीकै त शेयर बजार उच्च अंकले उकालो लाग्छ । त्यसरी उकालो लाग्नुको विकल्प छैन भन्दा पनि हुन्छ । लगानीकर्ताहरुमा थोरै चार्म देखियो भने त्यसले पूरा बजारमा चमक थप्ने निश्चित छ । र, त्यो समय अब नजिकै आईसकेको छ ।
यद्यपी आज बुधबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ। ३.३४ अंकले बजार घट्दा २०६३ को विन्दुमा पुगेको छ । तीन सय ५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको अवास्था छ।