काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने समयमा सांसदहरूले दिएको सुझावलाई समेटेर बजेटको खाका तय गर्ने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

आज बुधवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संविधानमा उल्लेख भए अनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि केही ठोस आधार तयार हुने किसिमको बजेट ल्याउने र त्यसका निमित्त सबै सांसदहरूको राज सुझावको सम्बोधन गर्ने बताएका छन् ।

उनले पूर्व अर्थमन्त्री महतले संसद्‌‌मा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता परिवर्तन नगरे पनि त्यसमा सांसदहरूको सुझावलाई समेटेर लैजाने बताएका छन्।

मन्त्री पुनले भने– ‘कतिपय सांसदले परिवर्तित परिस्थितिमा पुनर्लेखन हुनुपर्ने बताएको उल्लेख गरे। सरकारका नीतिहरूमा स्थिरता कायम गर्नुपर्ने, राम्रा नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने, परिवर्तित सन्दर्भको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने गरी आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिनेछ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार पुनः विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकोले सांसदहरूले दिएको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिनेछ ।’

उनले पूर्व अर्थमन्त्री महतले पेस गरेको नीति र सिद्धान्त संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेन्डालाई उपेक्षा गरेको भन्दै सांसदहरूले चिन्ता र चासो राखेको बताएका छन् । उनले आगामी बजेट १६ औँ योजनाको सोच अनुसारको पहिलो वर्षको प्रमुख कार्यहरू गर्ने वर्ष हुने बताए ।