काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्यको तयारीमा लागेको छ । सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले अन्तरविभागीय छलफल शुरु गरको हो । मौद्रिक नीतिको बिषयमा राष्ट्र बैंकले छलफल तिव्र पारेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो चरणमा सरोकारवाला निकाय–व्यक्ति, संघ संस्थाहरु र सर्वसाधारणसँग राय सुझाव संकलन गरिरहेको छ।

सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आमसर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन लिन थालेको छ ।

बजेटमार्फत सरकारले लिएको नीतिलाई अगाडि बढाउन मौद्रिक पक्षबाट सहयोग गर्ने काम मौद्रिक नीतिले गर्छ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि एक कार्यविधि बनाएको छ ।

यस्तो छ कार्यविधि

आर्थिक वर्षको पहिलो हप्ता नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले संशोधन गरेको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथममा मौद्रिक नीति सार्वजनिक हुने मिति तोकिएको छ । केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति र त्यसको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा पनि निर्धारण गरेको छ ।

प्राप्त सुझाव मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नुपर्नेछ ।

वार्षिक मौद्रिक नीति बनाउँदा जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा गर्दा हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग्नुपर्नेछ ।

संचालक समितिबाट पारित भएपछि वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।