फाईल तस्विर

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असल नियतका साथ काम गर्न तथा भय र त्रासमा नपर्न सचिवहरूलाई निर्देशन दिएका छन् ।

आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नियमित बैठकमा सबै मन्त्रालयहरूका सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले कानुन र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सुशासन नै सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै त्यसमा अडिग भएर काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक सचिवले भने ‘ म पनि कानुन विपरीतको कुनै काम गर्दिनँ । तपाईँहरू पनि नगर्नुस्, असल नियतले काम गर्दा भय र त्रासमा नपर्नुहोला ।’

प्रधानमन्त्री प्रचण्डले असल नियतले काम गर्दा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी आफैँले लिने बचनबद्धता व्यक्त गरेका थिए । साथै प्रधानमन्त्री प्रचण्डले सरकारी सेवा लिन नागरिकले भोगेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिएका थिए ।