काठमाडौँ। कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले ०८१- ०८२ भित्र वास्तविक किसानको पहिचान गरी किसान परिचय पत्र वितरण गर्ने बताएकी छन् ।

आज सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषि सम्बन्धी बजेट तथा कार्यक्रम सम्बन्धी छलफलमा बोल्दै मन्त्री साहले किसानहरूको पहिचान गर्ने, जग्गा वर्गीकरण गर्ने भन्ने विषयमा मन्त्रालयले काम गरिरहेको बताइन् ।

उनले मन्त्रालय किसानहरूलाई पहिचान गरी किसान परिचय पत्र दिने गरी लागिपरेको बताइन् । सबै जना एकाकार भएर फौजी तरिकाले काम गर्ने हो भने किसानको समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको जानकारी दिइन् । उनले सुन्तलालाई चाँडै नै मन्त्रीपरिषद्बाट पारित गर्न लागेको बताइन् । मन्त्री ज्वालाले २ लाख हेक्टर बाँझो जग्गालाई प्रयोगमा ल्याउन सके कृषि उत्पादनमा वृद्धि ल्याउन सकिने बताइन्।