काठमाडौं। श्री एयरलाइन्सले दुईवटा ‘८० सीट क्षमताका डास ८’ हवाईजहाज थप गरेको छ । एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर तथा हाल डि हेभिल्याण्ड अफ क्यानाडा निर्मित ८० सीट क्षमताका दुई वटा जहाज थपेको हो ।
कलसाइन ‘नाइन एन(एओके तथा नाइन एन(एओएल’ रहेका दुई वटा जहाज अमेरिकाको होराइजन एयर तथा अलास्का एयर समेतले सञ्चालन गरिरहेको उल्लेख गर्दै हवाई सेवा प्रदायक श्री एयरलाइन्सले आरामदायी, सुरक्षित तथा यात्रुलाई कम ध्वनी अनुभुति हुने खालका रहेको जानकारी दिएको छ ।
यी जहाजमा जडित इन्जिन ५४०० साफ्ट हर्षपावर भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित भएका कारण अति भरपर्दो रहेको श्री’ले प्रेस नोट मार्फत जानकारी दिएको छ। १०,००० माइलको दुरी पूरा गरेर मंगलबार मात्रै यी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
दिवंगत उद्योगपति बनवारी लाल मित्तलले २०५५ सालमा हेलिप्कटरहरुबाट नेपालका अति दुर्गम तथा विकट, हिमाली क्षेत्रमा खाद्यन्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामाग्री, जलविद्युत र सडक आयोजना निर्माण गर्ने विशेष प्रकारका मेशिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए । पछि नाम परिवर्तन गरेर श्री एयरलाइन्स कायम भएकामा छोटो समयमै नेपाली हवाई सेवा क्षेत्रमा सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी हुन सफल भयो ।
श्री एयरलाइन्स नेपाल तथा दक्षिण एशिया क्षेत्रबाट राष्ट्र संघ अन्तर्गतको विभिन्न शान्ति मिसन तथा डब्ल्युएफपीको हेलिकप्टरहरुबाट अन्तर्राष्ट्रिय चार्टर उडान समेत संचालन गर्ने पहिलो हवाई कम्पनी हो । हेलिकप्टर बाहेक आफ्ना दश वटा विमानहरुबाट समेत अन्तरराष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान शुरु गरि छोटो समयमा सफलता प्राप्त गरेको र विदेशबाट विमान ल्याउन नपर्ने गरी आफ्ना विमानहरुबाट विरामीहरुलाई उपचारका लागि विदेश लाने सेवा समेत प्रदान गर्दै आएको जिकिर कम्पनीले गरेको छ ।