वासिङ्टन डिसी। अमेरिकाको फ्लोरिडा राज्यले नाबालिगहरूको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्ने कानुन बनाएको छ । गभर्नर रोन डिस्यान्टिसले उक्त विधेयकमा हस्ताक्षर गरेका छन् । यो कानुन सन् २०२५ को जनवरीदेखि कार्यान्वयनमा आउने जनाइएको छ।
एजेन्सीका अनुसार यो कानुन लागू भएपछि राज्यका १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले सामाजिक सञ्जालमा जोडिन पाउने छैनन् । सामाजिक सञ्जाल एकाउन्ट बनाउन पाउने छैनन् । अनलाइनमा बालबालिकाको सुरक्षालाई बलियो बनाउन यो पहल गरिएको हो ।
यो कानुनको उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिनेछ । साथै उनीहरूले प्रभावित नाबालिगलाई १० हजार डलरसम्म क्षतिपूर्ति तिर्नु पर्नेछ । यो नियमको उल्लङ्घन गर्ने कम्पनीहरूले प्रभावित हरेकको लागि ५० हजार डलर जरिवाना तिर्नु पर्नेछ ।
सो कम्पनीले वकिलको शुल्क र अदालतको खर्च सबै पनि बेहोर्नु पर्नेछ। १४ वर्ष पुगेपछि भने बालबालिकाहरूले अभिभावकको स्वीकृति लिएर मात्रै सामाजिक सञ्जालमा खाता खोल्न पाउनेछन् । पछिल्लो समय अमेरिकाभर बालबालिकाहरूको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने क्रम बढेको छ ।