काठमाडौँ । हेटौँडा काठमाडौँ जोडिने (कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली) सडक आजदेखि अनिश्चित कालका लागि सवारी सञ्चालन बन्द गरिएको छ।
उक्त खण्डको सडकको स्तरोन्नतिका गर्नुपर्ने भएको कारण सवारी साधनको आवागमन बन्द गरिएको हो । हाल उक्त सडक खण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्रे तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिका वडा नं.३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिएका छन् ।
उनका अनुसार कालोपत्रे सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने भएको छ । यसअघि यही चैतको पहिलो साताबाट कुलेखानी(सिस्नेरी-छैमले-दक्षिणकाली) सडकको सिस्नेरी सडक खण्डमा निर्माण सम्पन्न नभएसम्मका लागि सो सडक खण्डमा यातायात सेवा बन्द गरिएको थियो ।
निर्माण सम्पन्न नहुँदै हेटौँडा-काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्रे नभएसम्मका लागि आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।