काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पछिल्लो समय ठूला लगानीकर्ताहरुमा नै कन्फिडेन्सको आभाव भएको स्पष्ट पारेकी छिन् । आर्थिक भ्वाईससँगको कुराकानीमा पोखरेलले ठूला लगानीकर्ता आत्तिएको बेलामा नयाँ तथा साना लगानीकर्तालाई पूर्ण रुपमा अन्यौलता सिर्जना भएको बताएकी हुन् ।
उनले आर्थिक भ्वाईससँग भनिन्,‘बजारलाई अहिलेको अवस्थामा विगतको जस्तै कसैले केही बोल्दैमा त्यसले हलचल ल्याउँने बेला छैन । यसको मतलब कोही ठूला पदमा भएका व्यक्तीत्वहरुले बोलेकै भरमा पहिले पहिले त शेयर बजारमा ठूलो फेरबदल आउँने गथ्र्यो । अहिलेको अवस्थामा अर्थमन्त्री, प्रधानमन्त्रीले बजार सय अंकले बढ्छ भने पनि त्यो सानोतिनो प्रतिक्रीया जस्तै लाग्न थालेको छ । यसको एउटै मात्र कारण भनेको बजार लामो समयदेखि प्यानिक अवस्थामा गएको छ । लगानीकर्ताहरुले बजार प्रति भरोसा नै निकै कम गर्नु भएको अवस्था छ । उहाँहरुको कन्फिडेन्ट निकै घटेको छ ।’
पोखरेलले मौद्रिक नीतिले कसिलो बनाएको केही व्यवस्थाका कारण पनि शेयर बजार प्रत्यक्ष प्यानिक अवस्थामा पुगेकोमा जोड दिएकी छिन् । उनले त्यस्ता व्यवस्थाहरुमा सुधार गर्न आवश्यक रहेको बताएकी छिन् ।
पोखरेलले थपिन्,‘अहिले हाम्रो बजारमा स्थिर नीतिको समेत खाँचो रहेको छ । सुधार हुने र तुरुन्ताको तुरुन्तै धेरै पोलिसीगत फेरबदल आउँदा त्यसको मारमा पनि शेयर बजार पर्दै आएको छ । आगामी दिनमा राम्रा नीतिहरु सरोकारवालाहरुले ल्याएर त्यसको दरिलो कार्यन्वयन गर्न आवश्यक देखिएको छ ।’ पोखरेलले अहिलेको अर्थमन्त्रीले बोल्ने तिर लाग्ने भन्दा पनि सबैभन्दा पहिला काम नै गरेर देखाउँन आवश्यक रहेको बताएकी छिन् । उनले अहिले आर्थिक रुपमा हरेक क्षेत्र त्रसित रहेको बताउँदै त्यसाबाट शेयर बजार अछुतो हुनुको सट्टा मुख्य प्रभावित रहेकोमा जोड दिएकी छिन् ।
उनले शेयर बजार निरन्तर घट्दा पुराना लगानीकर्तालाई टिक्न गाह्रो भएको बताइन । अहिलेको अवस्थामा अलिकति ठूलो इन्भेष्टर्सको रुपमा बजारमा जसको आवद्धता रहदै आएको छ त्यस्ता लगानीकर्ताहरु नै सबैभन्दा प्यानिक रहेको उनको अनुभव छ । उनले त्यस्तो अवस्थामा साना लगानीकर्ताहरुलाई बजारमा प्रवेश गर्न तथा कारोबार गरेर टिक्न थप चुनौतीपूर्ण रहेको बताइन ।
साथै, शेयर बजारको महत्व दर्शाउँदै उनले अन्य क्षेत्रको आर्थिक धरातल बलियो बनाउँन पुँजी बजार समेत बलियो हुनुपर्ने बताइन । यसमा लगानीकर्ता र संग संगठन जस्तै अन्य सरोकारवाला निकायहरुको ध्यानाकर्ष हुनुपर्ने उनको आशय छ ।