काठमाडौँ । परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा सीमा नाका खोल्न चीन सहमत रहेको बताएका छन्।
(आज) बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चीनसँग दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर सकारात्मक छलफल भएको बताएका छन् ।
दुई देशबिचको आर्थिक कूटनीतिलाई ध्यानमा राखेर छलफल गरेको मन्त्री श्रेष्ठको भनाई छ उनले आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल गरेको उल्लेख गरे।
रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए। यसबाट चीनको सिमाना नजिक बस्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए।
प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला पनि क्रमशः सिमानाका क्रमशः खोल्दै जाने सहमति भएको श्रेष्ठले बताए । ती नाका नखुलेको सन्दर्भमा गम्भीर छलफल गरेर खुल्न नसकेका १४ वटा नाका सहमति भएको र तत्काल व्यवहारमा देखिनेमा आफू विश्वस्त रहेको बताए ।
मन्त्री श्रेष्ठले भने– ‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बिचमा परराष्ट्र मन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ । यस्तै मन्त्री स्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बीआरआई परियोजनालाई अन्तिम रूप दिनेबारे छलफल भएको छ ।’
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपाल चीन विविध आयामबारे चिनियाँ नेताहरू गहिरो विषयगत छलफल भएको जनाएका छन् । मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भिसा निःशुल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिसा निःशुल्क गर्न माग गरेको उल्लेख गरे । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए ।