तस्बिर पठाओ

काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय बन्दै गएको कम्पनी पठाओले थप १७ सहरमा बाइक राइड सेवा बिस्तार गर्ने जनाएको छ ।

मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालको जानकारी छ ।

राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका नौ सहरहरु विराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ । मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा पनि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसै गरी बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगन्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो । भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना छ ।

नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेको पठाओ नेपालले जानकारी दिएको छ । राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिल बुक र इन्स्योरेन्स कागजात सहित आवेदन दिन  सकिने कम्पनीले जनाएको छ ।