काठमाडौं । विश्वमा बीमाको महत्व बढ्दै गएको बीमाविज्ञ भोजराज शर्माले औल्याएका छन् । आर्थिक भ्वाइससँगको कुराकानीमा उनले बीमाको बढ्दो महत्वको बारेमा चर्चा गरेका हुन् ।
यस्तो छ विज्ञ शर्माको धारणा
साधारणतया बीमाको महत्व हाम्रो जनजीवनमा आवश्यक छ भन्ने कुरा धेरैले थाहा पाउँनु भएकै छ । बीमाको विभिन्न आयामहरु छन् । बीमा भनेको एउटा सामाजिक अवधारणा पनि हो । त्यस्तै,बीमा भनेको समाजमा भएको आर्थिक जोगाडको उत्तम उपाय पनि हो । यसमा प्रत्येक व्यक्तीलाई बीमा आवश्यक बन्न थालेको छ । बीमा चाहे जीवन बीमा होस् या निर्जीवन बीमा होस् त्यसको महत्व ठूलो छ ।
निर्जीवन बीमाले कुनै पनि व्यक्तीले कमाएका कुराहरुको सुरक्षण गर्छ । सम्पत्तीको सुरक्षण गर्छ भने जीवन बीमाले भविष्यको लागि आफ्नो तथा परिवारलाई आर्थिक जोगाड गर्न मद्धत गर्छ ।
बीमा कम्पनी वा अभिकर्ताको लागि होइन
आजकालको जमानामा बीमा बिनाको समाजलाई, बीमा बिनाको व्यापारलाई हामीले कल्पना गर्न नसक्ने अवस्था आइसकेको छ । यसको मुख्य कारण भनेको पहिलाको जस्तो दुई पाँच हजारको मात्रै सर सामानहरु हामीसँग छैन । अहिले त तलाईले चढ्ने मोटरसाइकल पनि लाखौ रुपैयाँ र मोटर गाडी करोडौ रुपैयाँको हुने गर्छ । त्यस्ता सामान तथा घर सम्पत्तीको रक्षा गर्ने एक मात्र उपाय बीमा हो । मैले हिजो पनि यही भन्दै आएको थिए र आज पनि त्यही कुरा दोर्याइरहेको छु ।
अहिले नेपाल त भुकम्पको पनि जोखिममा रहेको छ । त्यसरी नै कुनै पनि बेला आगलागि हुने वा भैपरि आउँने घटनाका लागि हामीलाई बीमा चाहिन्छ । थोरै रकम तिर्दा धेरै रकम फिर्ता पाइने, ठूलो धनराशीको रक्षा उपयुक्त विधि बीमा नै हो ।
प्रकृतिले कुनबेला के क्षति गर्छ त्यो हामीले आँकलन गर्न सक्दैनौ । अर्को भनेको विश्वमा आतंक बढ्दो छ । रिसीविले पनि संहार गर्ने गरेका घटनाहरु सुनिन्छ । त्यसले गर्दा हुनेखाने र विपन्न सबै वर्गमा बीमाको आवश्यकता छ ।
हुँदै नहुलेलाई क्षति भयो भने उनको त सर्वस्व गुम्छ नै त्यस्तै हुनेखानेलाई पनि घरै बनाएर बस्ने काम वा फुर्सत नहुन सक्छ । तीनवटा घर छ भने तीनवटै घरमा एकै पटक क्षति पनि त पुग्न सक्छ । त्यसैले तीन वटा घर, गाडी, घोडा छ भने त्यो तीनवटैको सकेसम्म बीमा गर्नुपर्छ ।
एक ठाउँमा हुने क्षति जोगाएमा त्यो पैसा अन्य व्यापारमा लगाउँन सकिन्छ वा व्याज खाएर पनि बस्न सकिन्छ । अब बीमा बिनाको कुनै पनि वर्ग थप माथि जाने अवस्था रहदैन । त्यसैले बीमा बिना हवाईजहाज चल्दैन, बीमा नभई आत्मविश्वास आउँदैन, समाजमा अर्कै किसिमको अवस्था सिर्जना हुन्छ । सोही कारण अब त बीमाको बारेमा हामीले भन्ने भन्दा पनि व्यक्तीहरुले आफ्नो जोखिमको अवस्था हेरेर बीमा प्रोडक्टको छनोट गर्ने बेला आइसकेको छ ।