काठमाडौँ। चालु आर्थिक वर्षको माघ महिनामा केही सुस्ताएको रेमिट्यान्स फागुनमा महिमा भने पुनः लयमा फर्किएको छ।

चालु आर्थिक वर्ष (आव) २०८०- ८१ को सुरुवातीबाटै उच्च दरमा बढेको रेमिटेन्स र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचतमा उल्लेखनीय सुधार आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार फागुन २०८० मा १ खर्ब २२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। माघ महिनामा भने १ खर्ब ६ अर्ब रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना (साउन–फागुन)मा भने कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस अनुसार यो वर्ष मासिक औसत: १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ ।

यस वर्ष श्रम स्वीकृति लिने कामदारको सङ्ख्या भने केही घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८६ हजार ९३२ रहेको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ८४ हजार २७८ रहेको छ ।