काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशन गरे पछि न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन सजिलै २५ प्रतिशत बोनस शेयर दिन सक्ने देखिएको छ । कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपाली र असार २० गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आइपिओ निष्काशन गर्दैछ ।

सर्वसाधारण समुहको एक करोड २० लाख कित्ता मध्ये ६ लाख कित्ता कर्मचारीहरुलाई आधार मूल्यमै बिक्री गर्नेछ । बाँकी एक करोड १४ लाख कित्ता शेयर प्रति कित्ता २३६.९१ रुपैयाँको दरमा निष्काशन गर्नेछ । प्रिमियम मूल्य १३६.९१ रुपैयाँको दरले एक करोड १४ लाख कित्ता शेयर बिक्री गर्दा एक अर्ब ५६ करोड रुपैयाँ प्रिमियम आर्जन गर्नेछ । तर आयकर ऐनले विगतमा प्रिमियममा शेयर निष्काशन गरेका बीमा कम्पनीहरुलाई समेत अहिले आएर कर भुक्तानी गर्न निर्देशन दिइरहेको सन्दर्भमा आइएमई लाइफले पनि उक्त प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्नेछ ।

यदि कर भुक्तानी गर्नु परेको खण्डमा कम्पनीले राज्यलाई प्रिमियमबाट आर्जित रकमबाट झण्डै ३९ करोड रुपैयाँ तिर्नु पर्छ । त्यसपछि कम्पनीसँग लाभांश वितरण योग्य प्रिमियम रकम एक अर्ब १७ करोड हुने कम्पनीले बताएको छ ।

आईपीओ निष्काशन पछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब जुटाउन एक अर्ब आवश्यक पर्नेछ । यसका लागि कम्पनीले कम्तिमा पनि २५ प्रतिशत बोनस सेयर वितरण गर्नै पर्नेछ । अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा थप एक अर्बभन्दा माथि रकम रहेको छ । इन्स्योरेन्सका अनुसार प्रिमियम र जगेडा कोषमा रहेको रकम एक अर्ब नाघ्ने भएकाले यस वर्ष २५ प्रतिशत बोनस सेयर र आगामी वर्षमा लगानीकर्ताहरुलाई निश्चित प्रतिशत बोनस सेयर नियमित रुपमा वितरण गर्न सक्ने क्षमता बनाउनेछ ।

प्राथमिक बजारबाट २३६.९१ रुपैयाँको दरमा शेयर खरिद गर्नेले पहिलो वर्षमै २५ प्रतिशत प्रतिफल पाउन सक्ने छन् । प्राथमिक बजारबाट शेयर खरिद गर्नेहरुले समेत प्राप्त बोनस शेयर दोस्रो बजारमा बिक्री गरेर आफ्नो लगानीलाई सजिलै उठाउने छन् । मानौ कुनै शेयरधनीले प्राथमिक बजारबाट १०० कित्ता शेयर खरिद गर्यो । उसको प्राथमिक लगानी २३ हजार ६११ रुपैयाँ पर्न जान्छ । उसले पहिलो वर्ष २५ प्रतिशतका दरले २५ कित्ता बोनस शेयर प्राप्त गर्यो ।

अहिलेको अवस्थामा पनि दोस्रो बजारमा जीवन बीमा कम्पनीको सेयर मूल्य कम्तिमा पनि ४७४ रुपैयाँ रहेको छ । मानौ प्राथमिक सेयरधनीले कम्तिमा पनि प्रतिकित्ता ४५० रुपैयाँको दरले प्राप्त भएको २५ कित्ता बोनस सेयर बिक्री गर्यो । यसबाट उसले ११ हजार २५० रुपैयाँ प्राप्त गर्छ । बोनस सेयर बिक्री भएपछि प्राथमिक सेयरधनीको लागत १२ हजार ३६१ रुपैयाँमा झर्छ । यदि भोलिका दिनमा बढ्दो बजारमा सेयर बिक्री गर्न सकियो भने लगानीकर्ताले प्राथमिक बजारमा गरेको लगानीलाई सजिलै उठाउन सक्ने देखिन्छ । त्यसमा पनि २५ प्रतिशत बोनस सेयर दिने भएपछि कम्पनीको सेयर मूल्य दोस्रो बजारमा राम्रै अवस्थामा रहने बजार विश्लेषण छ ।

हाल आइएमई लाइफको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको आइएमई लाइफले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीले आईपीओ विक्रीबाट प्रिमियमबापत १ अर्ब ५६ करोड ७ लाख ७४ हजार आम्दानी गर्नेछ ।

तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै ,चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपियाँ संचिति रहेको छ ।

हाल कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपियाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो ।