काठमाडौँ । नेपालकै पहिलो पटक गाडी गुड्ने नागढुंगा–नौबिसे सुरुङ मार्ग दुईतर्फ जोड्ने ब्रेक थ्रू (अन्तिम छेड्ने काम) हुने भएको छ ।
यस अघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङ मार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङ मार्ग हुने छ । भने, सिद्ध बाबामा पनि सुरुङ मार्गको काम भइरहेको छ।
वैशाख भन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ मार्ग ब्रेक थ्रू गर्ने योजना सरकारले लिएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिएको भएपनी अब वैशाख ३ गते नागढुंगा–नौबिसे मार्गको ब्रेक थ्रू हुने निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीको अनुसार ‘वैशाख ३ गते १२ः४५ मा नागढुंगा–नौबिसे सुरुङ्गमार्ग ब्रेक थ्रू गर्ने समय निर्धारण भएको छ । ब्रेक थ्रू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ गर्ने छन् । भोलि सुरुङ्गमार्ग ब्रेक थ्रू भएपछि सञ्चालनमा आउन करिब १ वर्ष लाग्ने छ।
हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने, बाँकी २८ प्रतिशत काम छ ।’
२ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङ मार्गको पूर्वनागढुंगा र पश्चिम सिस्ने खोलातर्फबाट एक आपसमा मुख जोड्ने कार्य तालिका तयार पारिएको छ ।
जापानी कम्पनी हाजमा एण्डो कर्पोरेसनले सो सुरुङ्गमार्ग निर्माण गरेको हो । सुरुङ्गमार्ग केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए। शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, २०८१ सालको अन्त्यतिर मात्रै सुरुङ्गमार्ग सञ्चालनमा आउने भएको हो ।