काठमाडौँ। गत वर्षको चैत महिनामा घरजग्गा कारोबार गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
भूमि व्यवस्थापनको सार्वजनिक तथ्याङ्क अनुसार चालु आवको चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ६१२ वटा घरजग्गा कारोबार भएको छ । चैतमा ४९ हजार घरजग्गा लिखित पारित हुँदा ३८ हजार ७४० वटा घरजग्गाको रोक्का र २९ हजार १५२ वटा घरजग्गाको फुकुवा भएको छ । यो अवधिमा १७ वटा अपार्टमेन्टको लिखित पारित भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो अवधिमा सबैभन्दा धेरै कारोबार सुनसरीमा भएको छ । चैतमा इनरुवा मालपोत कार्यालयबाट २ हजार ८२ लिखत पारित भएको छ । फागुनमा भने यो कार्यालयबाट २००६ लिखित पारित भएको थियो । त्यस्तै भद्रपुर मालपोत कार्यालयबाट १ हजार ८३५,जनकपुरबाट १ हजार ८२३,मोरङ १ हजार ७९९ र राजविराजबाट १ हजार ३०२ लिखत पारित भएको विभागले जनाएको छ ।
यता काठमाडौँ उपत्यकामा भने ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ । यो कार्यालयबाट १ हजार २ वटा लिखित पारित भएको छ । त्यसपछि भक्तपुरबाट ९६९ वटा र कलंकी काठमाण्डौबाट ७३१ वटा लिखित पारित भएको छ ।
चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ । फागुनमा भने कुल ३ अर्ब ९५ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । चैत महिनामा लगनखेल मालपोत कार्यालयबाट ४२ करोड ८६ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन भएको छ । यो नै सबैभन्दा धेरै राजश्व सङ्कलन भएको हो ।