काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा करिब ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

केन्द्रीय बैंकले २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले २०८१ वैशाख ४ गते साँझ ५ बजेभित्र आफूले लिन चाहेको रकम, उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’वर्गका वाणिज्य बैंकमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’वर्गका विकास बैंकमा ६४ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा २१ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको  एक सूचना मार्फत जानकारी दिएको छ ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ। यसै गरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका सर्त केन्द्रीय बैंकले तोकेको छ।