काठमाडौँ । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा इन्जिनियरले घुस लिएको प्रकरणमा थप एक जना इन्जिनियर पक्राउ परेका छन् ।
पोखरा महानगरका घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले (हिजो) मङ्गलवार पक्राउ गरेको जानकारी दिएका छन् ।
गत चैत २८ गते घर निर्माणको घर नक्सा प्रमाणपत्र दिने क्रममा सब इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले रंगे हात पक्राउ गरेको थियो । त्यही प्रकरणमा मङ्गलवार साँझ बराललाई पनि पक्राउ गरी अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको छ।
उनीहरूले पटक पटक घुस लिएको खुल्न आएको छ । चैत २८ गते सवइन्जिनियर रोकायालाई पोखरा ५, माले पाटनबाट र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई पोखरा–४ सेल्वेजबाट पक्राउ गरिएको थियो । घुससहित पक्राउ परेकी सब इन्जिनियर रोकायालाई महानगरले निलम्बन गरिसकेको छ ।