काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले झण्डै २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

यस अवधिमा बैंकले २६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.९८ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ६.१९ प्रतिशत र सञ्चालन मुनाफा ९.६५ प्रतिशत बढेको छ ।

३ अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ ।यस अवधिमा बैंकले ५२ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ ।