काठमाडौँ । सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्सा स्थित छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जलेर लाखौँको क्षति भएको छ।
भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजे सल्किएको आगोले त्यहाँका १५ किसानको गहुँ अन्नबाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुराउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति हुन पुगेको छ ।
भारतीय भूमिमा गहुँको ठुटोमा लगाएको आगो अनियन्त्रित हुँदै आएर नेपालको भूमिमा खेती बाली तथा फुसको घरमा क्षति पुर्याएको स्थानीयको भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउने बित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको जानकारी दिएका छन् ।
प्रहरी चौकी मिर्जापुर, इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोली, स्थानीय तथा वीरगन्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो पूर्ण रूपमा निभाउन सफल भएको प्रहरीले जनाएको छ।