काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासको कारण देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार लगानी बोर्डको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभई सहजीकरण गर्नुपर्ने र सकारले सोही अवधारणाले अगाडि बढेको बताएका छन्।
‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भन्ने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गरौँ।’
लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्ने भन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताएका हुन।
‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यावहारिक परियोजना प्रस्तुत गरौँ,’ प्रचण्डले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौं, त्यसले लगानी बढाउन मद्दत गर्नेछ । त्यसैले पनि ठोस र व्यावहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिने गरी सम्मेलन गरौँ ।’
विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले केही राम्रो गर्न खोज्दा अप्ठ्यारो भए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताएका छन्।
नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिँचाइलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन निर्देशन दिएका छन् ।
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सम्बन्धित सबैमा आग्रह गरेका छन् ।