-सुन्दर धामी

काठमाडौ । चालु आर्थिक वर्षको १० महिनासम्मको भन्सार तथ्याङ्क हेर्दा प्राय सबै भन्सार कार्यालयहरुको राजस्व गुमेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष मुख्य मुख्य भन्सार कार्यालयहरुको समेत राजस्व संकलनमा तीब्र गिरावट आएको हो ।

केन्द्रीय बैकका अनुसा-र वैशाख मसान्तसम्म मुख्य १३ वटा भन्सार नाकामध्ये रसुवा भन्सार कार्यालय बाहेक १२ वटा कार्यालयको राजस्व संकलन घटेको छ । सबैभन्दा बढी भैरहवा भन्सार कार्यालयको राजस्व अघिल्लो वर्षको तुलनामा २२.१ प्रतिशतले घट्न पुगेको छ ।

अघिल्लो वर्षको वैशाख मसान्तसम्म २ खर्ब ६० अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष यस भन्सार कार्यालयले जम्मा २ खर्ब २ अर्ब ६१ करोड रुपैयाँ बराबरको मात्र राजस्व संकलन गर्न सकेको छ ।
यस्तै, मुख्य भन्सार कार्यालय विरगञ्जले समेत अघिल्लो वर्षको तुलनामा १४.६ प्रतिशतले राजस्व गुमाउँदै समीक्षा अवधिमा जम्मा ४ खर्ब ९२ अर्ब ४० करोड रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्षको यसै अवधिमा विरगञ्ज भन्सार कार्यालयले ५ खर्ब ७६ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

समीक्षा अवधिमा विराटनगर भन्सार कार्यालयले १३.३ प्रतिशतले राजस्व गुमाउँदै १ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँ राजस्व उठाउन सकेको छ भने, तातोपानी भन्सार कार्यालय र नेपालगंज भन्सार कार्यालयले क्रमशः १०.८ प्रतिशत र १७.८ प्रतिशतले राजस्व गुमाउँदै १० अर्ब ५ करोड रुपैयाँ र ५५ अर्ब ६४ करोड रुपैयाँ उठाएको छ । अघिल्लो वर्षको यसै अवधिमा यी दुई भन्सार कार्यालयहरुले क्रमशः ११ अर्ब २६ करोड रुपैयाँ र ६७ अर्ब ६९ करोड रुपैयाँ उठाएका थिए ।

यसै अवधिमा यता त्रिभूवन विमानस्थल भन्सार कार्यालयले समेत २७.७ प्रतिशतले राजस्व गुमाउँदै १० महिनामा १ खर्ब ३१ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा त्रिभूवन विमानस्थल भन्सार कार्यालयले १ खर्ब ८१ अर्ब ७७ करोड रुपैयाँ बराबरको राजस्व उठाएको थियो ।

अन्य भन्सार कार्यालयहरुले कति उठाए राजस्व ?

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा सुख्खा बन्दरगाहबाट १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ भने, जलेश्वर भन्सार कार्यालयबाट ६ अबरर्प ९२ करोड ७० लाख रुपैयाँ, कैलाली भन्सार कार्यालयबाट २२ अर्ब २३ करोड रुपैयाँ, कन्चनपुर भन्सार कार्यालयबाट १२ करोड २२ लाख रुपैयाँ, कृष्णनगर भन्सार कार्यालयबाट १ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ मेची भन्सार कार्यालयबाट ३९ अर्ब ११ करोड ९० लाख रुपैयाँ लगायत अन्य भन्सार कार्यालयहरुबाट १० अर्ब रुपैयाँ बराबरको राजस्व उठेको केन्द्रीय बैंकले जनाएको छ ।

यता रसुवा भन्सार कार्यालयले भने अघिल्लो वर्षको तुलनामा ०.३ प्रतिशतले राजस्व वृद्धि गर्दै समीक्षा अवधिमा २ अर्ब २६ करोड ८७ लाख रुपैयाँ उठाउन सफल भएको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा यस भन्सार कार्यालयले २ अर्ब २६ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सबैगरी चालु आर्थिक वर्षको १० महिनामा ७ खर्ब ५७ अर्ब २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा १३ प्रतिशत भन्दा बढीको गिरावट हो । यसरी ठूलो परिमाणमा राजस्व गुम्दैगर्दा सरकारमाथि खर्चको दबाब बढेको छ ।

यता राजस्वको स्रोत खुम्चदैगदा सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि १४ खर्ब रुपैयाँ बराबरको राजस्व लक्ष्य राखेको भन्दै सरकारको तीब्र आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले त सरकारले हचुवाको बजेट ल्याएको आरोप लगाउँदै राजस्व प्रणाली नै सरकारको नियन्त्रण बाहिर गएको हो ? भन्ने प्रश्न राखेको छ ।

महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ ३२ गतेसम्म लक्षित राजस्वको जम्मा ५८.४६ प्रतिशत मात्र उठाउँन सकिएको छ । सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ ।