काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जस अनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ५० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.५६ प्रतिशतले कम हो । कर्मचारीका लागि १२ करोड ६० लाख रुपैयाँ खर्च गरेको संस्थाको अन्य सञ्चालन खर्च भने ३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानी पनि ८.७६ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १९ करोड ७६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी घटेर १८ करोड ३ लाख रुपैयाँमा खुम्चिएको छ ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६८ लाख ६० हजार रुपैयाँ व्यवस्था गरेको छ। संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.६० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९६ प्रतिशत पुगेको छ ।

संस्थाको रिटेन्ड अर्निङमा ४३.१८ प्रतिशतको बढोत्तरी आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १७ करोड ३५ लाखबाट बढेर १९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२.७६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.५० रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६४.१८ रुपैयाँ कायम भएको छ ।