काठमाडौँ। साताको दोस्रो कारोबारका दिन शेयर बजार झिनो अंकले सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से परिसूचक (आज) दशमलव ७ अंकले बढेर १९८० को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । ३२७ वटा कम्पनीहरूको ७३ लाख ४१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा दुई अर्ब ५९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

बजारमा लगानी सम्मेलनको प्रभाव परेको मान्न सकिन्छ । आईतवार जस्तै सोमबार पनि पोखरा फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ७३१ रुपैयाँमा १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

साथै, नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँ, जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ८ लाख रुपैयाँ र मल्टीप्रपोज फाइनान्सको ७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।