काठमाडौँ । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात रहेको रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिपोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने सहमति भएको छ ।

काठमाडौँमा आज सोमबारका दिन समापन भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङस रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीय स्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस् प्रालिका अभिषेक विक्रम शाहको भनाई छ ।

मुगुको छायानाथ रारा नगरपालिका ९- मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्ट पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ। समुद्री सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ।

उनले भने, ‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो । परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’

आयोजनामा दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी थप हुनेछ। एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी रहेको छ।