काठमाडौँ । सरकारले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै समापन भएको छ । काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनको समापनसँगै समग्रमा लगानी सम्मेलन उपलब्धिमूलक रहेको अर्थबिद्हरुको भनाई छ ।
नेपालमा भर्खर समापन भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन कति अर्थमूलक ? र के आधारमा ? भन्ने प्रश्नमा आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीसँग कुराकानी गर्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भएको मान्न सकिने बताएका छन् ।
क्षेत्रीले सुरुवाती चरणमा सरकारको आवश्यक तयारी नदेखिएको भएपनी समापन चरणसम्म सन्तोषजनक परिणाम दिएको बताए । झट्ट हेर्दा लगानी सम्मेलनले नाफाको अपेक्षा गरिरहेको वा पुँजी भित्र्याउने मात्रै काम गर्छ भन्ने लागेपनी त्यो साँचो नभएर मुलुकले लगानीको अवसर दिन्छ भन्ने सोच राख्न आवश्यक रहेको बताएका छन् ।
हामी नेपालीको अपेक्षा लगानी सम्मेलन सफल भयो भोली बिहानै सरकारको खातामा करोडौँ रुपैयाँ आउँछ भन्ने किसिमको छ । त्यो निकै साँघुरो सोच हो , लगानीको लागी वातावरण बन्यो कि बनेन ? लगानीकर्ता नेपालले तयार पारेको योजनाहरूमा लगानी गर्न तयार देखिए कि देखिएनन् भन्ने कुरा खास हो यसर्थ नेपालले कम्तीमा अन्तर्राष्ट्रिय स्तरमा आशा जगाएको छ । लगानीको लागि आह्वान गर्ने ढोका खुला गरेको छ । यसलाई हामीले सुखद मान्नुपर्ने म ठान्दछु ।, क्षेत्रीले भने
लगानीका लागि वातावरण सिर्जना गर्नुपर्ने भन्नु र अनुकूल वातावरण पाएका छौँ भन्ने अनुभूति सम्बन्धित पक्षहरूको सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा भर पर्छ । केही मुलुकका पर्यटक अति सेवा भाव र समर्पण खोज्ने हुन्छन् भने कुनै मुलुकका पर्यटक भने नेपाली सामान्य शैलीबाट अति प्रभावित भई आगमन कैंयौं गुणा बढाएका हुन्छन् । लगानी त सम्पत्तिसँग सम्बन्धित विषय हो । प्रत्यक्ष रूपले लाभ र हानि व्यहोरिने यो गतिविधिले आपसी सद्भाव सौहार्दता र संयम पनि खोज्दछ । जुन दुबै पक्षका लागि लाभदायक र चिरस्मरणीय परिघटना पनि हुन्छ ।
सरकारले आयोजना गरेका विगतका दुई लगानी सम्मेलनभन्दा अहिलेको लगानी सम्मेलन सफल र फलदायी भएको भन्दै निजी क्षेत्र उत्साहित भएको हो । लगानी सम्मेलनमा सरकारले निजी क्षेत्रलाई सह–आयोजकको रूपमा सँगै लिएर जाँदा निजी क्षेत्र सन्तुष्ट देखिएको छ ।
निजी क्षेत्र सन्तुष्ट हुनु समग्र नेपालको लागी राम्रो पक्ष हो भन्ने महसुस गर्न आवश्यक छ । किनकि निजिक्षेत्रको विकास पनि नेपालभित्रको विकाससँग जोडिएको छ भन्ने भुल्नु हुँदैन । तेस्रो लगानी सम्मेलनमा करिब ९ अर्बभन्दा बढीको लगानी स्वीकृत समेत सरकारको दाबी छ । नेपालमा लगानीको ठुलो सम्भावना रहेको सन्देश विश्वमा पुगेको छ ,अब मुलुकको आर्थिक गतिविधि चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा राखिएको छ यो त प्रशंसायोग्य विषय हो क्षेत्रीले भने ।
विगतका लगानी सम्मेलनमा सन्तोषजनक प्रतिफल लिन नसकेको साँचो हो यसमा हाम्रो समेत असन्तुष्टि थियो नै तर अहिलेको लगानी सम्मेलनमार्फत प्रतिफल समेत प्राप्त हुने आशा जागेको देख्न सकिन्छ । सरकारले लगानी सम्मेलनको मुखमा निजीक्षेत्रले माग गरेअनुसार विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन केही कानुनहरू संशोधन गरेकाले थप आशा गर्न सकिन्छ ।
तर
मुख्य विषय तर मा गएर अडिएको क्षेत्रीको भनाई छ । समग्रमा हेर्दा लगानी सम्मेलनमा उत्साहजनक उपस्थिति पनि रह्यो , नेपालभित्रका लगानीकर्तामा निराशा देखिएको तत्कालीन समयमा सरकारले विदेशी लगानीकर्ता लिएर केही समझौताहरु सम्पन्न गर्यो तर यो मुख्य कुरा सम्झौता हैन दीर्घकालीन हो । सरकारले गरेको निर्णय कति दीर्घकालीन हुने । राजनीतिक स्थिरता कतिसम्म कायम राख्ने मुख्य चुनौतीको विषय देखिएको छ ।
प्रमुख प्रतिपक्षमा रहेको नेतादेखि सत्तापक्षसम्मका नेताको एउटै स्वर देखियो सबैले मन खोलेर लगानी गर्न आह्वान गरे यो निकै सुखद समाचार हो तर दीर्घकालीन समयका लागी राजनीतिक दल सच्चिन अझै आवश्यक छ । यहाँ नीतिगत समस्याहरू बाधकको रूपमा देखिएन बरु बाधक त राजनीतिक खिचातानी नै रहेछ तसर्थ यसको निर्मूल हुन सकेको खण्डमा नेपालको खस्किँदो अर्थतन्त्रमा सुधार आउने अपेक्षा राख्न सकिन्छ ।
समग्रमा नेपाल भित्रैका बिरक्तिएका, बिच्किएका लगानीकर्तालाई लगानी सम्मेलनले एउटै बिन्दुमा उभाइदिएको छ त्यो निकै सुखद लागेको छ । क्षेत्रीले भने
लगानी सम्मेलनको महत्वलाई ख्याल गरी झण्डै एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरी लगानीमैत्री बनाइयो । जग्गा प्राप्ति उत्पादनका साधनमध्येको एक हो, सहज र समन्यायिक ढङ्गले प्राप्त हुनु पर्छ भन्ने आधारमा रजिष्ट्रेसन मूल्यको तीन गुणाभन्दा बढी हुनु हुँदैन भन्ने कानूनी नयाँ व्यवस्थाले लगानीका लागि अनुकूलता थपेको छ । उद्यम व्यवसाय सुरु गर्दाका अवस्थामा आइपर्ने झैझमेला समयमै टुङ्ग्याउन ‘द्रुत निराकरण’को पद्धति अनुसरण गर्न सरकार सकारात्मक देखियो यसलाई प्रशंसा गर्न सकिन्छ अर्थविद् क्षेत्रीले भने ।
विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ताकि त्रुटिरहित ढङ्गले व्यवस्थित गर्न भएको प्रयास प्रशंसनीय छ । सम्भावित लगानीकर्ताहरूको सम्पर्क रहने सहयोगी वा सहजीकरण गर्ने व्यक्ति वा संस्थाले सम्बन्धित पक्षको सामाजिक सांस्कृतिक मान्यताको ख्याल गरी व्यवहार गर्नु पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ ।
क्षेत्रीले आर्थिक भ्वाईससँग भने ‘सरकारले लगानी प्रवर्द्धन तथा सहजता बनाउन प्रतिबद्ध रहेको सन्देश दिन सकेकाले पनि विगतको भन्दा यो लगानी सम्मेलन उत्साहका साथ सफल भएको मान्न सकिन्छ । देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको निजीक्षेत्रलाई साथमा लिएर हिँड्ने सरकारी घोषणा र नेपालमा लगानी गर्न तयार रहेको विदेशी लगानीकर्ताको घोषणापछि निजी क्षेत्र उत्साहित बनेको देखिन्छ यसर्थ सरकारलाई धन्यवाद दिने पर्याप्त ठाउँ बनेको छ ।’