काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
२ दिनसम्म चल्ने महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । राष्ट्रिय सभागृहमा भइरहेको महाधिवेशनमा देशभरका पत्रकारको उपस्थिति रहेको छ । केन्द्रीय महाधिवेशनमा राष्ट्रिय परिषद् सदस्यहरू सहभागी हुन्छन् ।
केन्द्रीय महाधिवेशनको एक महिनापछि महासंघले नयाँ नेतृत्व चयन गर्ने विधानमा व्यवस्था छ । त्यसका लागि महासंघको निर्वाचन आगामी जेठ १९ गते गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरिसकेको छ ।
यस पटक महासंघले प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै छ । केन्द्र, प्रदेश र जिल्ला समितिको मतपेटिका प्रत्येक शाखामा राखेर प्रत्यक्ष निर्वाचन हुने छ । निर्वाचन अघि महासंघको सदस्यता वैशाख मसान्तभित्र शुद्धीकरण समिति र संगठन समितिले टुङ्गो लगाउने महासंघले जनाएको छ ।