काठमाडौँ । यति बेला काठमाडौँ सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ । आज काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९८ पुगेको छ ।

पानी नपरेको कारण वायु प्रदूषण बढिरहेको छ । देशभरमा आगलागीको घटना दिनप्रतिदिन बढ्दै जादा करोडौंको क्षति भएको छ भने पानी नपरेकै कारण खेतबारीमा लगाएको बालीनाली सुक्दै गएकोमा किसानहरू चिन्तित बनेका छन् ।

केही दिनयता निरन्तर बढेको उच्च तापक्रम शुक्रवारबाट भने सामान्य बदली आएको मौषम विभागले जनाएको छ । नेपाली आकाशमा बादल देखिएको छ। आकाशमा बादल देखिएपछि तापक्रम केही घट्न पुग्दा कम गर्मीको महसुस भएको छ।

शुक्रवार काठमाडौँको अधिकतम तापक्रम घटेको छ । ३३ ड्रिगी सेल्सियससम्म पुगेको तापक्रम ३० दिनसम्म झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र यो प्रणालीले वर्षासमेत गराउने आङ्कलन गरेको जनाएको छ ।

‘शनिवार र आइतबार पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने अनुमान गरिएको छ। त्यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

पानी नपरेकै कारण वायु प्रदूषण हुँदा उक्त प्रदूषणले मुटु तथा रक्त नली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढी जसो पाँच वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्ध वृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ ।