काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र निष्काशन गर्ने भएको छ ।

केन्द्रीय बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र निजको परिवारका सदस्य तथा गैर आवासीय नेपालीहरूका लागि ५ वर्षे बचत पत्र निष्काशन गर्न लागेको  जानकारी दिएको छ ।

बचत पत्र आगामी वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म खुला हुने केन्द्रीय बैंकले जनाएको छ । पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचत पत्रमा बैंकले वार्षिक ९ प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने जनाएको छ।

ब्याज भुक्तानी अर्धवार्षिक (६/६ महिनामा) रूपमा हुने जनाइएको छ। उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफूले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने हुन्छ ।

उक्त बचत पत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक, उनीहरूका परिवारका सदस्य तथा गैर–आवासीय नेपालीहरूले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको ६ महिना नपुगेको हुनुपर्ने बैंकले जनाएको छ। उनीहरूले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले बचत पत्रका लागि घटीमा १० हजार देखि बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरिद दरखास्त दिन सक्नेछन् । आवेदनका लागि इच्छुक लगानीकर्ताहरूले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र ९म्याद ननाघेको० को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरूप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले बचत पत्र खरिदका लागि ८ वाणिज्य बैंकहरु सिटिजन्स, नबिल, माच्छापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा तीन रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनीहरूबाट आवेदन बुझाउन सक्नेछन् ।