काठमाडौं। सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा टनेल ७८ मिटर बराबर खनिएको छ । मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्ने छ ।

त्यसमध्यमा २९ अप्रिलसम्म उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर सुरुङ खनिसकिएको छ भने बाइपास प्रथम २३ मिटर, बाइपास दोस्रो १४ मिटर र बाइपास तेस्रो १२ मिटर खनिएको छ ।

सिद्धबाबा सुरुङ परियोजनाका अनुसार यस आयोजनामा बाइपासहरू क्रमशः १५१, १६१ र १३० मिटर खन्ने योजना छ । स्लोप प्रोटेक्सनतर्फ साउथ पोर्टलमा कुल २३ सय मिटर स्क्वायरमा काम गर्नुपर्ने छ । यसमध्ये ९८९ मिटर क्वायरको काम भइसकेको छ ।

उक्त योजनाको समग्र भौतिक प्रगति ११.३७ प्रतिशत भएको छ । वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ । सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन ९सीएससीईसी० ले गरिरहेको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङसहित बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २।५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।

यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाई गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्ष भित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो ।

यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।