काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा जम्मा ६० प्रतिशत हारहारी मात्र बजेट कार्यान्वयन हुन सकेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार असार १ गतेसम्म जम्मा ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बराबरको मात्र बजेट खर्च हुन सकेको हो ।
यस्तो खर्च चालुतर्फ विनियोजित बजेटको ७४.१५ प्रतिशत अर्थात् ८ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ भने यता पुँजीगत (विकास) खर्चतर्फ हालसम्म १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख रुपैयाँ (४०.२४ प्रतिशत) मात्र खर्च भएको छ । बाँकी एक महिनामा ६० प्रतिशत हारहारी बजेट खर्च गर्नुपर्ने सरकारमाथि दबाब भएपनि प्रायः यो असम्भव जस्तै छ ।
चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ९३ अर्ब ७३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ बजेट छुट्याएको थियो भने पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, आर्थिक वर्षको ११ महिना वितिसक्दा समेत सरकारले कुल बजेटको ७० प्रतिशत पनि खर्च कटाउन नसकेको हो ।
राजस्वतर्फ पनि अवस्था उस्तै
उसो त बजेट खर्चतर्फ कमजोर देखिएको सरकार यस पटक राजस्व संकलनमा समेत निकै कमजोर स्थितिको प्रदर्शन गरिरहेको छ । चालु आर्थिक वर्षको ११ महिना वितिसक्दा समेत लक्षित राजस्वको करिब ६१ प्रतिशत कटाउन सकेको छैन । महालेखा नियन्त्रण कार्यालयका अनुसार समीक्षा अवधिसम्म सरकारले सबैगरी ८ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बराबरको मात्र राजस्व तथा आम्दानी गर्न सकेको छ । यो लक्षित राजस्वको ६०.३६ प्रतिशत हारहारी मात्र हो ।
सरकारले यस वर्ष राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो भने गैररावस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । यस्तै यता विभिन्न दातृ निकायहरुबाट चालु आर्थिक वर्षमा ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको अनुदान सहायता लिने अपेक्षा गरेको थियो । तर, यसअवधिमा यस्तो सहायता ४ अर्ब ८० करोड रुपैयाँ बराबर मात्र प्राप्त भएको छ ।