काठमाडौं । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । कार्यालयले एक सूचना प्रकाशन गरी यस्तो बताएको हो ।
वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पहिलेकै अवस्थामा ल्याउन गाह्रो पर्ने भएकाले सडक खन्न रोक लगाइएको कार्यालयले जनाएको छ ।
सूचनामा भनिएको छ, ’सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतका सडक डिभिजन कार्यालय मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिनेछ ।’
वर्षा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा सहरी क्षेत्रमा सडक भत्काउने र बनाउनेक्रम चलिरहेको गुनासो बढ्ने गरेको पाइएको छ ।








