काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले सहकारी पीडितको पक्षमा सडक प्रदर्शन गर्ने जनाएका छन् ।

तरुण दल र महिला संघले सडक प्रदर्शनको कार्यक्रम घोषणा गरेको अवस्था छ।

तरुण दलले २ जेठमा माइतीघरमा प्रदर्शन गर्ने अध्यक्ष विद्धान गुरुङले विज्ञप्तिमार्फत जानकारी गराएका छन् भने देशभर रहेका लाखौं सहकारी पीडितको पक्षमा आन्दोलन सुरु गर्ने निर्णय भएको उनले बताएका छन् ।

महिला संघले १ जेठमा रत्नपार्क शान्ति वाटिकमा प्रदर्शन गर्ने निर्णय भएको छ भने यता सहकारी पीडितको रकम फिर्ता गराउन, सहकारी समस्याको दिगो समाधान निकाल्न र पीडकलाई कानुनी दायरामा ल्याउन दबाब दिने उद्देश्यले विरोध गर्न लागिएको महिला संघ अध्यक्ष उषा राउत मिश्रले जानकारी दिएकी छिन्।

नेपाल विद्यार्थी संघले १ जेठमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

माउ पार्टी कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा निरन्तर आवाज उठाउन थालेका छन् ।