काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १२ वटा निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमास अर्थात, चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार १२ मध्ये जम्मा २ वटाको मात्र नाफा घटेको छ । बाँकी कम्पनीहरुको नाफामा निकै राम्रो सुधार देखिएको छ ।
यिनीहरुको कमिशन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको कारण नाफामा पनि सुधार आएको हो । गत वर्षको चैतसम्म ३ अर्ब ४० करोड ५५ लाख रुपैयाँ रहेको खुद नाफा अहिले बढेर ५ अर्ब २५ करोड २३ लाख पुगेको छ । यो ५४ प्रतिशतले धेरै हो ।
यता, कर्जाबाट तथा लगानीबाट हुने आम्दानी पनि ३ अर्ब ११ करोडबाट बढेर ४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । समग्रमा नन लाइफ इन्स्योरेन्स कम्पनीहरुको चुक्ता पूँजी २४ अर्ब २७ करोड ६८ लाख रुपैयाँ देखिएको छ । त्यसैगरी, रिटेन्ड अर्निङमा ६ अर्ब ९८ करोड रुपैयाँ जम्मा रहेको छ ।
बीमा कम्पनीहरुको खुद बीमा शुल्क संकलन पनि बढेर ९ अर्ब ४० करोड ३१ लाख पुगेको छ । नाफासँगै यिनीहरुको प्रतिशेयर आम्दानी पनि औसतमा ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
कुन सूचकमा कसको अग्रताः
खुद नाफा कसको कति ?
नेपाल इन्स्योरेन्सले चालू आवको ९ महिनासम्म ६१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०१ प्रतिशतले धेरै हो । गत वर्ष यसको खुद नाफा ३० करोड ५४ लाख थियो । दोस्रोमा, राष्ट्रिय बीमा कम्पनीले ५१ करोड ६३ लाख नाफा गरेको छ । यो गत वर्षको भन्दा २४ प्रतिशतले कम हो । यता, हिमालयन एभरेष्टले ६० करोड ६५ लाख खुद नाफा कमाएको छ । एनएलजी इन्स्योरेन्सले भने सबैभन्दा कम १३ करोड ६७ लाख रुपैयाँ बराबरको नाफा गर्न सफल भएको छ ।
चुक्ता पूँजी आइजीआई प्रुडेन्सियल र रिटेन्ड अर्निङ राष्ट्रिय बीमा कम्पनीको धेरै
चैतसम्म आइपुग्दा १२ बीमा कम्पनीहरु मध्ये आइजीआई प्रुडेन्सियलको चुक्ता पूँजी सबैभन्दा धेरै रेहको छ । यसको ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ भन्दा धेरैको पूँजी छ । यता, राष्ट्रिय बीमाको भने सबैभन्दा कम पूँजी देखिएको छ । यसको जम्मा २६ करोड ६६ लाख रुपैयाँ बराबरको क्यापिटल छ । १२ मध्ये ७ वटाको चुक्ता पूँजी २ अर्ब माथि छ ।
यता, रिटेन्ड अर्निङ भने राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै ३ अर्ब ५६ करोड रुपैयाँ बराबर देखिएको छ । दोस्रोमा सिद्धार्थ प्रिमियरको ७१ करोड रुपैयाँ बराबरको रिटेन्ड अर्निङ छ । सबैभन्दा कम प्रभु इन्स्योरेन्सको रिटेन्ड अर्निङ देखिएको छ । यसको उक्त शीर्षकमा १० करोड ३४ लाख रुपैयाँ जम्मा । समग्रमा यिनीहरुको सञ्चित कोषमा करिब ७ अर्ब रुपैयाँ जम्मा छ ।
बीमा शुल्क संकलन कुनको कति ?
रिपोर्ट अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै १ अर्ब ३७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १५.५७ प्रतिशतले धेरै हो । यसले गत वर्षको चैतसम्म १ अर्ब १८ करोड रुपैयाँ उक्त शुल्क संकलन गरेको थियो ।
दोस्रोमा, सिद्धार्थ प्रिमियरले १ अर्ब ३२ करोड, शिखरले १ अर्ब ८ करोड र नेकोले १ अर्ब ७ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । जम्मा ४ वटाले १ अर्ब रुपैयाँ भन्दा धेरैकोउक्त शुल्क संकलन गरेका छन् । यता, सबैभन्दा कम राष्ट्रिय बीमाले १० करोड १६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समग्रमा यिनीहरुले ९ अर्ब ४० करोड ३१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
कर्जा तथा लगानीबाट कति भयो आम्दानी ?
नेपाल इन्स्योरेन्सले कर्जा तथा लगानीबाट ७९ करोड ६८ लाख आम्दानी गरेको छ । यो गत वर्षको चैतसम्मको तुलनामा २३९ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा यो कम्पनीले २३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
राष्ट्रिय बीमाले ६८ करोड २६ लाख, सिद्धार्थ प्रिमियरले ५२ करोड ७३ लाख रुपैयाँ कर्जा तथा लगानीबाट आम्दानी गरेको छ । प्रभु इन्स्योरेन्सले भने ११ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांकमा उल्लेख छ । समग्रमा यिनीहरुले ४ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ बराबरको रकम कर्जा तथा लगानीबाट आम्दानी गरेका छन् । यो गत वर्षको तुलनामा ४२.५५ प्रतिशतले धेरै हो ।
प्रतिशेयर आम्दानी कसको कति ?
चैतसम्म आइपुग्दा राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । यसको उक्त आम्दानी १९३.६५ रुपैयाँ छ । गत वर्षको यसैअवधिमा कम्पनीको २५७.४४ रुपैयाँ प्रतिशेयर आम्दानी थियो । नेपाल इन्स्योरेन्सको ४९.८२, प्रभुको ३७.९३ र हिमालयम एभरेष्टको ३२.३५ रुपैयाँ प्रतिशेयर आम्दानी छ । औसतमा यिनीहरुको प्रतिशेयर आम्दानी ३९.७१ रुपैयाँ छ ।