काठमाडौं। सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासस्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार जीवनले पनि निर्जीवन बीमा कम्पनीहरुले जस्तै नाफामा आकर्षक सुधार गरेका छन् । यिनीहरुको पनि लगानी तथा कर्जाबाट हुने आम्दानी र कमिसनबाट हुने आम्दानी बढ्दा नाफामा वृद्धि भएको हो ।
यसअवधिसम्म आइपुग्दा लाइफ इन्स्योरेन्स कम्पनीहरुको समग्र नाफा ४३.२१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्म यिनीहरुको नाफा ३ अर्ब ४३ लाख रुपैयाँ बराबर थियो ।
जीवन बीमा कम्पनीहरुको समग्रमा चुक्ता पूँजी ५६ अर्ब ४९ करोड ८९ लाख पुगेको छ । यता, रिटेन्ड अर्निङ १६ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, खुद बीमा शुल्क संकलन पनि १२.२५ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ६१ करोड पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट ४२ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यो गत वर्षको भन्दा २३ प्रतिशतले धेरै हो । प्रतिशेयर आम्दानी पनि औसतमा १२.४६ रुपैयाँ छ ।
बीमा कम्पनीहरुले ९ महिनासम्म निकै राम्रो नाफा आर्जन गर्न सफल भएका छन् । यिनीहरुको नाफासँगै अरु सूचकमा पनि सुधार देखिएको छ । प्रायः सबै कम्पनीहरुको वित्तीय विवरण राम्रो देखिएको छ ।
हेरौं कुनको कस्तो छ वित्तीय अवस्थाः
बीमा कम्पनीहरुको नाफा ४ अर्ब ९१ करोड माथि
बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको भन्दा ४३.२१ प्रतिशत धेरै हो । गत वर्षको चैतसम्म यिनीहरुले ३ अर्ब ४३ करोड नाफा कमाएका थिए । यसमध्ये एशियन लाइफले सबैभन्दा धेरै ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा २५४ प्रतिशतले धेरै हो । नेपाल लाइफले ६० करोड, सन नेपालले ४९ करोड ३६ लाख, हिमालयन लाइफले ४३ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यता, सबैभन्दा कम राष्ट्रिय जीवन बीमाले २ करोड ४५ लाख नाफा कमाएको छ ।
चुक्ता पूँजी र रिटेन्ड अर्निङमा कुन कम्पनी अगाडि ?
चैतसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पूँजी नेपाल लाइफको देखिएको छ । यसको पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ भन्दा धेरै छ । दोस्रोमा, हिमालयन लाइफको ८ अर्ब २ करोड ३ लाख बराबरको पूँजी देखिएको छ । नेशनल लाइफ र सूर्यज्योतिको क्रमशः ५ अर्ब १ करोड १६ लाख र ५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी छ । सबै भन्दा कम पूँजी राष्ट्रिय जीवन बीमाको १८ करोड १० लाख रुपैयाँ रहेको छ । यसले हालसम्म आईपीओ जारी गरेको छैन । मेट लाइफको भने पूँजी रिपोर्टमा उल्लेख छैन ।
यता, रिटेन्ड अर्निङ पनि नेपाल लाइफकै धेरै छ । यसको उक्त शीर्षकमा २ अर्ब २९ करोड रुपैयाँ जम्मा छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) को २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ बराबारको उक्त अर्निङ छ । मेट लाइफको २ अर्ब १८ करोड रिटेन्ड अर्निङ छ । सबैभन्दा कम राष्ट्रिय जीवन बीमाको ५० करोड ९२ लाख रुपैयाँ बराबरको रिटेन्ड अर्निङ छ ।
खुद बीमा शुल्क संकलन कसको कति ?
बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ६१ करोड रुपैयाँ भन्दा धेरैको बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये नेपाल लाइफले २९ अर्ब १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो गत वर्षको भन्दा ८.५० प्रतिशतले धेरै हो । गत वर्ष यसले २६ अर्ब ८४ करोड बीमा शुल्क संकलन गरेको थियो ।
एलआइसीले १२ अर्ब ८६ करोड ९९ लाख, नेशनल लाइफले १२ अर्ब ६२ करोड र हिमालयन लाइफले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सबैभन्दा कम सन नेपालले २ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ ।
लगानी तथा कर्जाबाट भएको आम्दानी
जीवन बीमा कम्पनीहरुले लगानी तथा कर्जाबाट ४२ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेका छन् । गत वर्षको चैतसम्म यिनीहरुको उक्त आम्दानी ३४ अर्ब ४५ करोड रुपैयाँ थियो । उक्त आम्दानी बढ्दा नै यिनीहरुको नाफामा सुधार देखिएको हो ।
सबैभन्दा धेरै लगानी तथा कर्जाबाट आम्दानी गर्ने कम्पनी नेपाल लाइफ हो । यसले १० अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ९.६५ प्रतिशतले धेरै हो । एलआइसीले ६ अर्ब ८८ करोड, हिमालयनले ४ अर्ब १२ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब २० करोड र नेशनल लाइफले ४ अर्ब ९ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ । सबैभन्दा कम सन नेपालको उक्त आम्दानी देखिएको छ ।
प्रतिशेयर आम्दानी कसको कति ?
चैतसम्म आइपुग्दा एशियन लाइफको प्रतिशेयर आम्दानी २९ रुपैयाँ २० पैसा पुगेको छ । यो बीमा कम्पनीहरुमध्येको सबैभन्दा धेरै हो । यसको उक्त आम्दानी २० रुपैयाँ ९७ पैसा बढेको छ । सन नेपालको २० रुपैयाँ ५७ पैसा प्रतिशेयर आम्दानी छ । सबैभन्दा कम हिमालयन लाइफको इपीएस ७ रुपैयाँ २४ पैसा छ ।