काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै परिषद्ले विद्यालय बन्दको घोषणा गरेको हो।

परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/०८१ को संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलित भएको हो ।

परिषद्ले पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भिर नभएको र बरु प्रहरी दमन भएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको जानकारी दिएको छ ।