काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका प्रदेशहरुले गुड गभर्नेन्सका साथसाथै प्रदेशभित्र आफ्नै बैंक खोल्ने सम्मका योजना अघि सारेका छन् । आर्थिक वर्षको बजेटमाफर्त मधेस प्रदेश र बागमती प्रदेशले आफ्नै बैंक खोल्ने गरी वित्तीय योजना अघि सारेका हुन् ।
शुक्रबार बजेट सार्वजनिक गर्दै मधेस प्रदेशको आफ्नै वित्तीय संस्था खोल्न आवश्यक पूर्वाधार, अध्ययन अनुसन्धान तथा कानुनी संरचना तयार गर्ने घोषणा गरेको छ । यसका लागि आवश्यक १० करोड रुपैयाँ समेत आगामी आर्थिक वर्षको बजेटमार्फत विनियोजन गरिएको प्रदेशको आर्थिक मामिला मन्त्रीले बताए ।
त्यस्तै, बागमती प्रदेशले पनि छुट्टै वित्तीय संस्थासम्बन्धी व्यवस्था गर्नेगी बजेटमा योजना समेटेको जनाएको छ।
‘प्रदेशभित्र वित्तीय साक्षारता र वित्तीय पहुँच अभिवृद्धि गर्न सङ्घीय सरकार, स्थानीय तह, वित्तीय संस्थाहरुसँगको सहकार्यमा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेश विकास बैंक स्थापनाका लागि अध्ययन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ’ बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह तामाङले जारी बजेट वक्तव्यमा भनिएको छ ।