काठमाडौँ। राजस्व सचिव डा.रामप्रसाद घिमिरेले विद्युतीय गाडीमा किलोवाट छली भएको बताएका छन्। भन्सार विभागको तथ्यांकमा हेर्दा इभि गाडीको आयातमा ठुलो विचलन भएको घिमिरेको भनाई छ ।
अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव घिमिरेले भने ‘भारतमा मूल्यमा कर लगाएको छ । तर हामीले किलोवाटमा लगाएका छौँ, गाडी आयातको तथ्यांक हेर्दा ५० देखि १ सय किलोवाटमा धेरै आयात भएको देखियो जसमा विचलन भएको भेटियो यसलाई रोक्न कर बढाएका छौँ ।’
घिमिरेले इभि आयातकर्ताहरूले १ सय किलोवाट भन्दा बढीको गाडीलाई कागजात मिलाएर ल्याउने गरेको जानकारी गराएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा वेबसाइट परीक्षण गर्दा पनि विचलन देखिएको सचिव घिमिरेको भनाइ छ।
इभि गाडीमा किलोवाट छलीबाट ५ अर्ब भन्दा बढी राजस्व चुहावट भएको अनुमान गरिएको राजस्व सचिव घिमिरेको भनाई छ । ओमोडा र डिपलका इभिमा किलोवाट छली भइरहेको फेलापरेपछी भन्सार विभागले प्राविधिक परीक्षण सहितको अध्ययन गरिरहेको छ ।