हेटौंडा । मकवानपुरको रातोमाटेबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी ल्याएको करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने वर्ष ३३ का रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने वर्ष २६ का सुधीरकुमार सहनी रहेका छन् ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको ९० बोरा कपडासहित हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चौकीबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा जनाएको छ ।

सिराहाबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बरको बी आर ०६ जी ई ५०५३ नम्बरको ट्रकलाई हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सो ट्रकमा चारैतिरबाट प्याजको बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा बरामद भएको हो ।

विशेष सूचनाको आधारमा गत शुक्रबार साँझ ७ः ४० बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रातोमाटे चेकपोष्ट सो ट्रकलाई नियन्त्रणमा लिइएको थियो । पूर्व पश्चिम सडकखण्ड अन्तर्गत पर्ने उक्त चेकपोष्टमा सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको सो ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो ट्रकको पछाडीको भागमा चारैतिरबाट १६८ बोरा प्याजको बोराले छोपी ल्याइएको कपडा बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार ट्रकमा ल्याएको १६८ बोरा प्याजको प्रतिकिलो ५० दरले भन्सार काटिएको छ ।